१८ भदौ , फोहरका रूपमा फालिएका बोतल बेचेर दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्याण प्रावि डाँडापातुका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।

तुलसीपुर बजार सफा गर्ने क्रममा भेटिएका बोतल बेचेर त्यहाँ अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिइएको हो । बजार सफा बनाउनुका साथै त्यसबाट सङ्कलन भएको रकमलाई यस्तै न्यून आर्थिक अवस्था भएकालाई सहयोग गर्ने गरेको सफाइ अभियानको संयोजक निमबहादुर बुढाथोकीले बताए । हाम्रो सरसफाइ अभियान एक सय ६४औँ हप्तामा प्रवेश गरेको छ ।

हामीले लामो समयदेखि तुलसीपुरमा प्रत्येक हप्ता सरसफाइ अभियान सञ्चालन गरिरहेका छौँ । उनले भने यही क्रममा भेटिएका पानीका बोत्तललाई सङ्कलन गरेर यस्तै विपन्न विद्यार्थीलाई सहयोग गर्न थालेका छौँ । सोमबार विद्यालयमै पुगेर विद्यार्थीलाई कपी–कलम सहयोग गरिएको हो ।

त्यो विद्यालयका ५० बढी विद्यार्थीलाई कपी र कलम सहयोग गरिएको हो । सोही विद्यालयमा न्यून आर्थिक अवस्था भएका विद्यार्थी अध्ययन गर्छन् । धेरैजसो विद्यार्थी अभिभावकविहीन बनेका तथा विद्यार्थीदेखि अभिभावक टाढा भएकाहरू अध्ययन गर्ने गरेको विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले बताए । यो विद्यालयमा अधिकांश सहाराविहीन र गरीब विद्यार्थी पढ्छन् ।

उहाँले भन्नुभयो आर्थिक अवस्था कम्जोर भएकालाई यसरी सहयोग गर्नुले विद्यार्थीमा थप हौसला बढ्ने गर्छ । ०४५ मा उक्त विद्यालय स्थापना भएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा ८८ विद्यार्थी अध्ययन गर्छन् भने ७ जना शिक्षक कार्यरत छन् ।