बालाजु जेसीज वर्ष २०२६ को आयोजनामा जेसीज सप्ताह उद्घाटन तथा स्थापना दिवस समारोह बुधबार भव्य रूपमा सम्पन्न भएको छ।
शाखा अध्यक्ष जेसी नारायण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बालाजु जेसीज वर्ष २०१८ का अध्यक्ष तथा संस्थापन कानुनी सल्लाहकार जेसी गोविन्द खनाल प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
त्यसैगरी कार्यक्रममा बालाजु जेसीज वर्ष २०२४ का अध्यक्ष जेसी राजेश पोख्रेल, बालाजु जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुरज पौडेल, गल्याङ जेसीज वर्ष २०२३ का अध्यक्ष जेसी ऋषि बस्याल लगायत बालाजु जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, सदस्यहरू तथा आमन्त्रित अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
समारोहका अवसरमा जेसीज सप्ताहको औपचारिक उद्घाटन गर्दै प्रमुख अतिथि जेसी गोविन्द खनालले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका लागि जेसीजले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सप्ताहभर सञ्चालन हुने कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गर्दै आयोजक टोलीलाई शुभकामना दिनुभयो।
कार्यक्रममा शाखा अध्यक्ष जेसी नारायण शर्माले जेसीज सप्ताह अन्तर्गत सञ्चालन हुने विभिन्न सामाजिक, नेतृत्व विकास, व्यक्तित्व विकास तथा समुदायमुखी कार्यक्रमहरूको जानकारी गराउनुभयो। उहाँले सप्ताहभर आयोजना हुने कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको अन्त्यमा शाखा अध्यक्ष शर्माले कार्यक्रम सफल बनाउन सहयोग पुर्याउने प्रमुख अतिथि, विशिष्ट अतिथि, पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, सदस्यहरू, सहयोगी संस्था तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभयो।
बालाजु जेसीजले स्थापना दिवसको अवसरमा आयोजना गरेको जेसीज सप्ताह अन्तर्गत आगामी दिनहरूमा सामाजिक सेवा, नेतृत्व विकास, व्यक्तित्व विकास, वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा तथा समुदायसँग प्रत्यक्ष सरोकार राख्ने विविध कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

