अर्को वर्ष हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुर स्थित त्रि वि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।
शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
२०१४ मा बंगलादेशमा टी-२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो ।
