चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य–मुलुक युएई बनेको छ।वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षका साउन, भदौ र असोजमा मात्रै ३७ हजार ४ सय ९२ युवा श्रमका लागि युएई पुगेका छन्। यसमा ७ हजार १५ महिला र ३० हजार ४ सय ७७ पुरुष छन्।
वैदेशिक रोजगारीमा जाने नेपाली महिलामध्ये अधिकांश श्रम स्वीकृति लिएर युएई जाने गरेको विभागको तथ्याङ्कले देखाएको छ। यस तथ्याङ्कमा श्रम स्वीकृति नलिएका महिलाको गणना छैन। दलालमार्फत भिजिट भिसामा जाने महिलाको रोजाइ पनि युएई नै हुने गरेको छ। घरेलु कामदारका रूपमा पनि काम पाउने भएपछि उनीहरू त्यसरी जाने गरेका हुन्।
वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतीका अनुसार युएई एसियाली र अफ्रिकी नागरिकहरूका लागि बस्न र काम गर्न सुरक्षित गन्तव्य हो। ‘विदेशी कामदारहरूमध्ये सबैभन्दा धेरै भारतीयहरू यहाँ कार्यरत रहेका छन्,’ उप्रेतीले भने, ‘त्यसपछि युएईमा पाकिस्तानी, बङ्गलादेशी, फिलिपिनो, इरानी, इजिप्टियन, नेपाली, श्रीलङ्काली र चिनियाँ छन्। धार्मिक र सांस्कृतिक विविधताले युएईलाई सहअस्तित्वको देश भनेर चिनाएको छ। त्यही विविधताले उनीहरूलाई त्यहाँ पुर्याउने गरेको छ।’
