राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईँको आह्वानमा हुन लागेको प्रदर्शनलाई ध्यान दिँदै काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाण्डौ उपत्यका भित्रिने नाकामा सुरक्षा जाँच भइरहेको छ । ट्राफिक प्रहरीको समेत सहभागितामा नाकाबाट प्रवेश गर्ने हरेक गाडीमा निगरानी र सोधपुछ भइरहेको हो ।

अवैधानिक तथा प्रतिबन्धित वस्तु काठमाण्डौ उपत्यका छिर्न नदिन एवं शङ्कास्पद व्यक्तिलाई रोक्ने उद्देश्यका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । निजी तथा सार्वजनिक तथा मालवाहक गाडीका साथै मोटरसाइकलमाथि पनि विशेष निगरानी भइरहेको छ । सहरका मुख्य चोकहरुमा पनि सुरक्षा जाँच भइरहेको छ । 

बल्खु र तीनकुनेमा हुन लागेको छुट्टाछुट्टै प्रदर्शनको सुरक्षाको लागि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी खटिएका छन् । प्रदर्शनको सुरक्षाको पहिलो तहमा नेपाल प्रहरी खटिनेछ । सशस्त्र प्रहरी दोस्रो लहरमा हुनेछ । सूचना सङ्कलनका लागि राष्ट्रिय अनुसन्धान विभागसँगै दुवै प्रहरी सङ्गठनबाट सादा पोसाकका प्रहरी समेत परिचालित भइसकेका छन् । दुई पक्षको जुलुसलाई जम्काभेट र घुसपैठ हुन नदिन उच्च सुरक्षा सतर्कता अपनाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उज्यालोलाई जानकारी दिनुभयो ।

By