काठमाडौँ — सहकारीको रकम अपचलनमा देशैभरि प्रश्न उठिरहेका बेला काठमाडौं महानगरले पनि अनुगमन तथा अनुसन्धान थालेको छ । बुधबार महानगरको टोलीले ‘साई स्वागत बचत तथा ऋण सहकारी’ बाट दस्ताबेज संकलन गर्दै पदाधिकारीको बयान पनि लिएको छ । यो सहकारीमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष रहेका बेला उनले बिनाधितो ५० लाखको कारोबार गरेको तथ्य भेटिएको महानगरको टोलीको दाबी छ ।

काठमाडौं महानगर क्षेत्रका सहकारीमा बेथिति बढेको र सर्वसाधारणको बचत संकटमा परेको भन्दै उजुरी परेपछि महानगरले सीएसहितको टोली बनाएर अनुगमन सुरु गरेको छ । यसक्रममा धेरै उजुरी आएको मध्ये ‘साई स्वागत बचत तथा ऋण सहकारी संस्था’ मा पनि अनुगमन गरिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए । ‘उजुरीका आधारमा अनुगमन गरिएको हो, अन्य सहकारीमा पनि अनुगमन हुन्छ, प्रतिवेदन तयार भएपछि कसलाई कस्तो कारबाही गर्ने भन्ने तय हुन्छ,’ उनले भने ।