सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः देउवाले इच्छाएका व्यक्तिलाई नै उपचुनावको उम्मेदवार बनाएको छ ।
२२ चैत, काठमाडौं । अरु दलका उम्मेदवार उपचुनावको दौडाहामा लागिसक्दा संसदको ठूलो दल कांग्रेसका टिकट आकांक्षीहरु काठमाडौंमै अड्किइरहेका थिए । चार दिनसम्म लम्बिएको बैठकले निष्कर्ष नदिंदा चुनाव तयारी नै प्रभावित थियो ।
सहमतिका लागि समय लगाएको तर्क गरिए पनि कांग्रेसले अन्ततः सभापति शेरबहादुर देउवाको इच्छा अनुसारकै व्यक्तिलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ ।
इलाम-२ मा डम्बर खड्का र बझाङ प्रदेश सभा (१) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने बिहीबार बसेको संसदीय बोर्डको बैठकले निर्णय लिएको छ ।
पार्टीको लगातार चार दिन बैठक बोलाएर देउवाले आफू अनुकूलका व्यक्तिलाई उम्मेदवार बनाउने निर्णय गराए । देउवाका लागि खड्का र सिंहको पक्षमा निर्णय गराउन सहज भने भएन ।
