बलरहरूले शानदार प्रदर्शन गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको शृङ्खलामा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा नेपालले ओमानमाथि ११३ रनको जित हासिल गरेको हो । नेपालले दिएको २६४ रनको लक्ष्य पछ्याएको ओमान ४० ओभरमा १५० रनमा अलआउट भयो ।
नेपालका लागि नन्दन यादवले ६ ओभरमा १२ रन दिएर ३ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ९ ओभरमा २८ रन दिएर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र ललित राजवंशीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २६३ रन बनाएको थियो । रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । ६७ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे । करण केसीले अन्त्यतिर १६ बलमा ४० रनको आक्रामक खेल खेलेका थिए ।
यो जितपछि लिग २ अंकतालिकामा छैटौं स्थानमा रहेको नेपालको ३४ खेलबाट २८ अंक भएको छ । ओमान ३० खेलबाट ३३ अंकसहित चौथो स्थानमा छ ।नेपालले अब अर्को खेलमा आगामी शनिबार क्यानडासँग खेल्नेछ ।
