चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङ्गे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका रुपमा रहेको छ । कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल छ सय ९४ वटा गैँडा छन् ।

गैँडाको वैकल्पिक सङ्ख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी एक सय दुई वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

थप सात गैँडाको यही चैतमा चितवन निकुञ्ज भित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए । उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरुप प्रदान गरिएको छ ।