कतिपयमा जन्मजात अन्धोपनको समस्या हुन्छ भने कतिपयमा उमेर बढ्दै जाँदा न्यून दृष्टिको समस्या देखा पर्छ ।
विश्वमै अन्धोपनको मुख्य कारण मोतीबिन्दु हो । आँखाको प्रकाश धमिलो हुँदै गएर दृष्टि गुम्ने रोगलाई मोतीबिन्दु भनिन्छ । नेपालमा पनि अन्धोपन तथा न्यून दृष्टि गराउने आँखाको समस्यामध्ये मोतीबिन्दु प्रमुख कारण हो ।
आँखामा एउटा प्राकृतिक पारदर्शी लेन्स हुन्छ । त्यो लेन्समा सेतो दाग बढ्दै आयो वा बाक्लो हुँदै गयो भने आँखाको पारदर्शितामा धमिलोपन आउँछ । यसकारण हेर्ने क्षमतामा कमी आउनुलाई मोतीबिन्दु भनिन्छ ।
उमेर बढेसँगै शरीरका हरेक कोष परिवर्तन हुन्छन् । त्यसरी नै आँखामा भएको पारदर्शी लेन्स पनि परिवर्तन हुन्छ । विशेषगरी ५० वर्षको उमेरपछि मोतीबिन्दुको समस्या बढी देखिन्छ । जसलाई उमेरअनुसारको मोतीबिन्दु भनिन्छ ।
मोतीबिन्दु भएमा आँखा हेर्न गाह्रो हुने र धमिलो हुने जस्ता समस्या हुन्छ । साथै बिस्तारै आँखाको दृष्टि कम हुँदै गएर पूरै दृष्टि नै गुम्ने भय पनि हुन्छ ।
मोतीबिन्दु भएपछि यसको उपचार भनेको शल्यक्रिया हो । यसको शल्यक्रिया गर्दा पुरानो लेन्स निकालेर कृत्रिम लेन्स राखिन्छ । आँखामा रहेको लेन्सलाई ढाक्ने झिल्लीलाई सानो प्वाल पारेर निकालिन्छ र कृत्रिम लेन्स राखिन्छ । यो शल्यक्रिया सामान्य रूपमा गरिएको सर्जिकल प्रक्रियामध्ये एक हो र सबैभन्दा सफल प्रक्रियामध्ये एक हो ।
शल्यक्रियाको लागि नेपाल तथा भारतमा बनेको लेन्स प्रयोग गर्ने हो भने न्यूनतम खर्च सातदेखि १५ हजार लाग्छ । आफ्नो रुचिअनुसार अमेरिका, जर्मनी लगायतका देशमा बनेको लेन्स राखेको खण्डमा लेन्सको मूल्य महँगो पर्न सक्छ ।
