बर्खामा नारायणी नदी बढ्दा नारायणघाटस्थित पुलमा मान्छेहरूको भिड जम्मा हुन्छ। गडगडाउँदै आएको नदी हेरेर उनीहरू दंग पर्छन्। फोटो खिच्छन्, भिडिओ बनाउँछन् केही किलोमिटर पश्चिमतिर नदी आसपासमा बसोबास गर्नेहरूको भने नारायणीको पानी धमिलो देखेपछि मन अमिलो हुन्छ। डरले डेरा जमाउन थाल्छ।
भरतपुर–४ स्थित रामेश्वर शान्ति टोल विकास संस्थाका अध्यक्ष राजेन्द्र कँडेलले यसपाली आफू नदीको बाढी वस्ती नपस्नेमा ढुक्क भएको बाताए। यसपालि बर्खामा भने नारायणीमा धमिलो पानी देखेर डराउनु नपर्नेमा स्थानीयहरू ढुक्क भएका छन्।
किनभने टोल नजिकैबाट बग्ने नारायणी नदीमा यसै वर्ष तटबन्ध बनेको छ।
‘बर्खा लागेपछि रातभर सुत्न पाइँदैनथ्यो। नदी पसेर घरहरू डुवानमा पर्थे। उद्धारमा खट्नुपर्थ्यो,’ कँडेलले भने, ‘अब त यो तटबन्धले नदीको पानी रोक्छ। वस्ती डुवानमा पर्दैन। जमिन कटान हुँदैन। नदी नजिक बसोबास गर्नेका लागि वरदान नै बन्यो।’
