काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा सहभागी हुने भएका छन् । उनी आज (सोमबार) राति दुईजना सल्लाहकारसहित फ्रान्सतर्फ प्रस्थान गर्दैछन् ।मेयर बालेनसँग उनका व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल पनि जाँदैछन् । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा त्यता जान लागेका बालेनले फेस्टिभलमा तीन दिन बिताउनेछन् ।
७७ औं कान्स फेस्टिभल १४ देखि २५ मेसम्म आयोजना हुँदैछ । यस वर्ष नेपालबाट कुनै फिल्म छनोट नभएपनि नेपालमा छायांकन भएको ‘द सेमलेस’ अन रिगार्ड विधा र नेपाली भाषाको फिल्म ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै फिल्ममा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।
