गण्डकी प्रदेशमा श्रमाधान रोजगार मेला सुरु भएको छ ।

पोखराको पोखरा इभेन्ट सेन्टरमा सुरु भएको मेलाको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्याल र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संयुक्त रुपमा उद्घाटन गरे ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजना तथा होटल संघ नेपाल (हान) को संयोजन र सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघ लगायतका सरोकारवाला संस्था छन् ।

मंगलबारसम्म चल्ने मेलामा श्रमाधानका बहुआयामिक पक्षबारे संवाद समेत हुनेछ । मेलाको पहिलो दिन श्रम आप्रवासन : कानुनी प्रक्रिया र मनोसामाजिक प्रभाव, यातायात रोजगारमा चुनौती र अवसरहरू, अबको यात्रा योगदानमा आधारित सामाजिक सुरक्षा विषयमा संवाद हुनेछ ।

दोस्रो दिन मंगलबार शिक्षा र रोजगारी बीचको सेतु : कार्यस्थलमा सिकाइको प्रयोग, पर्यटनले कोर्नुपर्ने अबको बाटो, श्रम कानुनका अप्ठ्याराहरू र फुकाउनुपर्ने गाँठा विषयमा संवाद हुनेछ ।मेलामा स्वागत मन्तव्य राख्दै श्रम मन्त्रालयका सहसचिव रामकृष्ण लामिछानेले रोजगारदाता र रोजगारी खोज्नेहरूबीच पुलको काम गर्ने बताए ।बाध्यतात्मक वैदेशिक रोजगारीको अन्त्य गरी स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्न सांकेतिक पहल भएको उनको भनाइ छ ।

कोशी प्रदेशको विराटनगरबाट सुरु भएको श्रमाधान रोजगार मेला बाग्मती प्रदेशमा पुगेर सकिने छ ।