७ असार, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको भन्दा जनयुद्धकालमा आफ्नो जीवन सरल भएको बताएका छन् । तर पनि आफ्नो सक्रियता कम नभएको उनले बताए ।

राष्ट्रिय बुद्धिजीवी संगठनको छैटौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू जीवनको उत्तरार्धतिर लागे पनि रात दिन सक्रिय भएको बताए ।

७० तिरबाट अगाडि लाग्नु भनेको त उत्तरार्धै हो । तर तपाईंहरुले देख्नुभएको छ म रात दिन जनयुद्धमा भन्दा कम खटेकै छैन । अझ बढी खटेको छु’ प्रधानमन्त्री प्रचण्डले भने बरु जनयुद्धमा त जीवन सरल थियो मेरो ।

अहिलेका नेताहरुमध्ये पारिवारिक रुपमा सबैभन्दा अप्ठ्यारो परिस्थिति पनि आफूले नै झेलेको भन्दै उनले सक्रियता नछोडेको बताए । उनले बुद्धिजीवीहरुलाई प्रश्न गरे म आफूलाई अन्तिम समयसम्म सक्रिय राख्ने कोसिस गरेको छु भने तपाईंहरुले किन सक्नुहुन्न ?

जनयुद्ध, जनआन्दोलनका उपलब्धि रक्षा गर्दै देशलाई समाजवादको बाटोमा डोर्‍याउन आफू सक्रिय रहेको प्रचण्डले बताए । त्यसका लागि कांग्रेस, एमाले सहितका दललाई मिलाउन संयोजनकारी भूमिका खेलेको उनको भनाइ छ ।