२० असार, काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।
मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।
प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ । उनी विदेश जान चाहेका रहेछन् तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि आत्महत्या गर्न खोजेको देखियो एसपी सुवेदीले भने ।
