२६ असार, विराटनगर । तेह्रथुममा पहिचान पक्षधरले कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई कालो झण्डा देखाएका छन् । तेह्रथुमको बसन्तपुरबाट म्यालुङ जाने क्रममा बुधबार बिहान जिरिखिम्तीमा कालो झण्डा देखाएका हुन् ।

प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले २६ माघ २०८० मा सरकारसँगको सहमतिपछि आन्दोलनको स्वरुप परिवर्तन गरेको थियो ।

नेताहरूकाे यात्रामा अवराेध नगर्ने सहमति गरेकाे थियाे । तर बुधबार मुख्यमन्त्री तेह्रथुमको म्याङलुङ जाने क्रममा पुन: कालो झण्डा देखाएका हुन् ।मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने क्रममा प्रहरी र पहिचान पक्षधरबीच सामान्य धकेलाधकेल भएको थियो । पहिचान पक्षधरले पहिचानको आधारमा नाम राख्न माग गर्दै मुख्यमन्त्री कार्कीविरुद्ध प्रदर्शन गरे ।

जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख प्रहरी नायव उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार १०-१२ जनाको समूहले मुख्यमन्त्रीलाई कालोझण्डा देखाउन खोजेको थियो । तर प्रहरीले रोकेको उनले बताए ।

बसन्तपुरबाट म्याङलुङ आउने क्रममा जिरी बजारमा कालो झण्डा देखाउन खोजिएको थियो उनले भने प्रहरीले रोक्यो ।१७ फागुन २०७९ मा हिक्मतकुमार कार्कीको नेतृत्वमा प्रदेशको नाम कोशी राखिएको थियो । प्रदेशसभामा मतदान गर्दा ९३ सांसद मध्ये ८२ सांसदले कोशीको पक्षमा मतदान गरेका थिए । प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छ ।