२३ साउन, काठमाडौं । नुवाकोटमा दुर्घटनाग्रस्त हेलिकप्टरको काठमाडौंबाट उडेको ३ मिनेटपछि नै टावरसँग सम्पर्कविच्छेद भएको खुलेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जारी गरेको विज्ञप्तिमा दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको उल्लेख गरिएको छ ।

३ मिनेटपछि काठमाडौं टावरसँग सम्पर्क विच्छेद भइ काठमाडौं जिल्ला शिवपुरी गाउँपालिका वडा नं. ७ सूर्यचौर भन्ने स्थानमा दुर्घटनामा परेको पुष्टि भएको विज्ञप्तिमा भनिएको छ दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्दार कार्यका लागि प्रभु हेलिकप्टरको हेलिकप्टर दुर्घटनास्थलतर्फ प्रस्थान गरिसकेको व्यहोरा जानकारीका लागि अनुरोध छ ।

दुर्घटनामा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये ४ जना यात्रु चिनियाँ नागरिक थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।