दक्षिण एसियाली महिला कलाकारको नारीवाद सम्बन्धी वृहत् कला प्रदर्शनी काठमाडौँमा शनिबारदेखि सुरु भएको छ ।
‘फेमिनिस्ट फ्युचर : आर्ट, एक्टिभिजम एण्ड साउथ एशियन वुमनहुड’ शीर्षकको प्रदर्शनीले दक्षिण एशियामा नारीवाद, कला र सक्रियताका जटिल पक्ष उजागर गर्ने कार्यक्रमको परिकल्पनाकार डा. अर्शिया लोखन्डवाला बताउँछिन् ।
तारागाउँ नेक्स्टको आयोजना र सराफ फाउन्डेसनको सहकार्यमा बौद्धस्थित तारागाँउ सांस्कृतिक केन्द्रमा सुरु भएको प्रदर्शनी तीन महिनासम्म अवलोकन गर्न पाइने छ । प्रदर्शनीमा दक्षिण एसियाका १० जना महिला कलाकारको सिर्जना राखिएको छ । प्रदर्शनीले पितृसत्तात्मक संरचना, परम्परागत सोच र लैङ्गिक राजनीति जस्ता विषय सम्बोधन गर्ने लोखन्डावालाको भनाई छ । प्रदर्शनीमा भारतका ४, नेपालका ३ र श्रीलङ्का, पाकिस्तान र बङ्गलादेशका एक-एक महिला कलाकारका सृजना राखिएका छन् ।
भारतीय कलाकार अनिता दुबे, मिथु सेन, शेबा छाच्छी र पुष्पमाला, नेपाली कलाकार अश्मिना रञ्जित, विधाता केसी र उमा विष्टसँगै श्रीलङ्काकी अनोली पेरेरा, पाकिस्तानकी नाइजा खान र बङ्गलादेशकी तायबा बेगम लिपीका सृजना प्रदर्शनीमा छन् । सबै कलाकारले कलामार्फत पारम्परिक लैङ्गिक भूमिकालाई चुनौती दिँदै महिलाको स्वायत्तता र सामाजिक संरचनाको प्रभाव उजागर गर्ने प्रयास गर्नेछन् ।
