२३ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सकिने भएको छ ।
पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाडौं महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए ।
महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो । योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए ।
यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँमा समेत यो प्रविधि जडान गरिने उनले बताए ।
‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई ‘पुस’ गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन । अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाडौं महानगरपालिकाले यो कामहरु गर्न थालेको हो ।
सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् ।
काठमाडौं महानगरपालकाले सडक सुधार आयोजना अन्तर्गत पेलिकन लाइट जडानको काम गरिरहेको छ ।
