१९ चैत, गुल्मीको रेसुङ्गा नगरपालिकामा व्यवसायिक रुपमै स्ट्रोबेरी खेती सुरु भएको छ ।
रेसुङ्गा नगरपालिका-६ को सिमाघाटमा प्रेम नेपालीले व्यवसायीरुपमा स्ट्रोबेरी खेती गर्दै आएका छन् । अघिल्लो वर्ष परीक्षणको रुपमा खेती गरेका नेपालीले बजार राम्रो पाएसँगै यसवर्षबाट व्यवसायीक रुपमै खेती गर्दै आएका हुन् ।
नेपालीले स्ट्रोबेरी खेतसँगै आर.एन.पी नवोदय बहुउदेश्यीय कृषि फर्म दर्ता गरेर विभिन्न तरकारी खेती गर्दै आएका छन् । स्ट्रोबेरी फलफूलको रुपमा प्रयोग गरिन्छ ।
नेपालीले यसवर्ष करिब दुई रोपनी क्षेत्रफलमा स्ट्रोबेरी खेती गरेका छन् । नेपालीले उत्पादन गरेको स्ट्रोबेरी तम्घास बजारमा बिक्री हुँदै आएको छ । फागुन महिनाबाट पाक्न सुरु गर्ने स्ट्रोबेरी वैशाख अन्तिमसम्म पाक्ने गर्दछ । नेपालीको फर्मबाट अहिले १० किलो भन्दा बढी स्ट्रोबेरी दैनिक उत्पादन हुँदै आएको कृषक प्रेम नेपालीले बताए ।
स्ट्रोबेरीको बजार मूल्य हाल ५ सयदेखि ६ सयसम्म बिक्री हुँने गर्दछ । बजार राम्रो हुँदै गएकाले निरन्तरता दिँदै आएको उनको भनाइ छ ।
