रूस र युक्रेनको युद्ध अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बनाएको २८ बुँदे शान्ति योजनामा युक्रेन र अमेरिकाले छलफल गरेर १९ बुँदे मस्यौदा तयार पारेका छन्।
ट्रम्प सरकारले युक्रेनसँग सल्लाह नगरी रूससँग मात्रै परामर्श गरेर २८ बुँदे शान्ति योजना बनाएको छ। सो योजनाको व्यापक विरोध भएपछि अमेरिकी र युक्रेनी अधिकारीले हालै जेनेभामा छलफल गरेका थिए। सो छलफलपछि दुई देशले १९ बुँदे मस्यौदा तयार पारेका भनेर युक्रेनका प्रथम उप–विदेश मन्त्री सर्गई किस्लित्स्याको हवाला दिँदै फाइनान्सियल टाइम्सले लेखेको छ।
ट्रम्पको योजनाका सबभन्दा संवेदनशील विषयहरू भने ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले छलफल गरेर टुंग्याउने किस्लित्स्याले बताए। युक्रेनी भूमि रूसलाई दिने र नेटो लगायत सबभन्दा विवादास्पद विषय ट्रम्प र जेलेन्स्कीले निर्णय गर्ने गरी जेनेभामा सहमति भएको छ।
छलफलमा भूमि त्याग्ने अधिकार आफूलाई नभएको भन्दै युक्रेनी वार्ताकारले संविधान अनुसार त्यस्तो निर्णयका लागि जनमत संग्रह आवश्यक हुने जिकिर गरेका थिए। तर बाँकी विषयमा भने दुई पक्षले सघन छलफल गरेर दुवै पक्षले सकारात्मक महसुस गर्ने गरी धेरै संशोधन गरेर दस्तावेज तयार भएको किस्लित्स्याले जानकारी दिए।
