ललितपुर महानगरपालिकाले नगर प्रहरीमार्फत गरिने जरिबाना प्रक्रियालाई थप सहज र प्रविधिमैत्री बनाउन ‘एलएमसी ई–चलान’ नामक डिजिटल जरिबाना व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। महानगर प्रमुख चिरीबाबु महर्जनले सोमबार आयोजित कार्यक्रममा उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन्।

नयाँ प्रणाली लागू भएसँगै अब जथाभाबी पार्किङ गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, फोहर जथाभाबी फाल्ने तथा सडक पेटीमा अनधिकृत व्यापार गर्ने व्यक्तिहरूले जरिबाना अनलाइनमार्फत तिर्न सक्ने व्यवस्था गरिएको नगर प्रहरीले जनाएको छ।

प्रारम्भिक चरणमा नगर प्रहरीका लागि पाँचवटा पीओएस (POS) मेसिन उपलब्ध गराइएको छ। नियम उल्लंघनका कारण सवारीसाधनमा ह्विल लक लगाउनुपर्ने अवस्था आएमा सम्बन्धित स्थानमै क्यूआर कोड राखिनेछ। सो क्यूआर कोड स्क्यान गरी जरिबाना रकम भुक्तानी गरेपछि जानकारी प्रणालीमा प्राप्त हुने र नगर प्रहरीले तत्काल ह्विल लक खोल्ने व्यवस्था मिलाइएको छ।

सवारीसाधनका अतिरिक्त फोहर व्यवस्थापन तथा फुटपाथ अतिक्रमणजस्ता विषयमा पनि घटनास्थलमै क्यूआर कोडमार्फत जरिबाना असुल गर्ने योजना महानगरले अघि बढाएको छ।

महानगरका अनुसार यस प्रणालीले जरिबाना तिर्नका लागि कार्यालयसम्म पुग्नुपर्ने, लाइन बस्नुपर्ने तथा समय खर्चिनुपर्ने अवस्थाको अन्त्य गर्ने अपेक्षा गरिएको छ। विभिन्न स्थानमा खटिएका नगर प्रहरीलाई क्रमशः पीओएस मेसिन उपलब्ध गराउँदै प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा लैजाने तयारी भइरहेको जनाइएको छ।

प्रविधिको प्रयोगमार्फत सेवा प्रवाहलाई सहज, पारदर्शी र छिटो बनाउने उद्देश्यसहित ललितपुर महानगरले डिजिटल जरिबाना प्रणालीलाई विस्तार गर्ने योजना अघि सारेको छ।