नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ। प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन शाहले गर्ने कार्यक्रम रहेको छ।
त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ। खेल आज अपराह्न ४:३० बजे सुरु हुने तालिका छ।
प्रधानमन्त्री शाहले एनपीएललाई नेपालको प्रमुख खेलकुद उत्सवका रूपमा उल्लेख गर्दै प्रतियोगितामा सहभागी नेपाली तथा विदेशी खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई सफलताको शुभकामना दिएका छन्।
यस संस्करणमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्ससँगै जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, चितवन राइनोज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका खेल हिमालय स्पोर्ट्स र अनलाइनखबर डटकममार्फत प्रत्यक्ष प्रसारण गरिने जनाइएको छ। एनपीएलले नेपाली क्रिकेटको लोकप्रियता बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा खेलाडीको प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।
