सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुले छलफल सहमति उन्मुख भएको दाबी गरेका छन् ।

कार्यदलमा रहेका सत्ता पक्षका सदस्यहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस विगतको भन्दा लचक देखिएको भन्दै अर्को बैठकमा टुंगोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज बिहान कानुन मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । बैठकपछि कार्यदलका संयोजक एवम् कानुन मन्त्री पदम गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको र छलफल उपलब्धिमूलक भएको बताए ।

सहमतिमै कार्यादेश निर्माण गर्न आफूहरु सहमत भएको उनले बताए । ‘हाम्रो बीचमा के सहमति भएको छ भने सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्ने सम्पूर्ण रुपले सहमति बनेको छ गिरीले भने मलाई लाग्छ अब अर्को बैठकमा हामी यो विषयमा टुंगोमा पुग्न सक्छौं ।

कार्यदलका अर्का सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमतिको मध्यविन्दु पहिल्याउने गरी छलफल भएको जानकारी दिए । दुवै पक्षबाट आ–आफ्ना धारणा राख्ने सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भयो,’ बर्तौलाले भने ।