काठमाडौं । बानेश्वरको बीच सडकमा मधेशमा पानी माग्दै रित्ता भाँडासहित प्रदर्शन

चुरे संरक्षण र मधेशमा पानीको अभाव समस्या समाधान गर्न माग गर्दै माइतीघरबाट प्रदर्शन गर्दै बानेश्वतर्फ गइरहेका सर्वसाधारणलाई प्रहरीले नयाँ बानेश्वर चोक नजिकै रोकेको हो ।

प्रहरीले संसद भवनतर्फ जान नदिएपछि प्रदर्शनकारीले नयाँ बानेश्वरकै सडकमा बसेर खाली भाडा बजाउँदै नाराबाजी गरेका छन् ।उनीहरुले आँखा खोल सरकार, चुरे बेच्न पाइँदैन, चुरे ऐन लागु गर, पानी दे सरकारलगायत नारा लगाइरहेका छन् ।

२५ दिन पैदल हिँडेर मधेशको पानीको समस्याबारे सरकारलाई जानकारी गराउन र समस्या सम्बोधनका लागि दबाब दिन काठमाडौं आएका  मधेशका विभिन्न जिल्लाका बासिन्दा १० दिनदेखि माइतीघरमा धर्ना बसिरहेका थिए ।

चुरे संरक्षण अभियन्ता सुनिलकुमार यादवले चुरे संरक्षणको नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ खर्च गरे पनि चुरे विनाशका कारण मधेशमा ८० प्रतिशत चापाकल सुकेको बताए । आफूहरु चुरे संरक्षणको माग उठाएर आन्दोलन गर्दा दलहरुले बेवास्ता गरेको भन्दै उनले आक्रोश पोखे ।