३ असार, काठमाडौं । पेट्रोलियम पदार्थको अभाव भएसँगै काठमाडौं उपत्यकाका पेट्रोल पम्पहरुमा सवारी चालकहरुको लामो लाइन लागेको छ । काठमाडौंका पेट्रोल पम्पहरुमा लामो समयपछि सवारी साधनहरुको लाइन देखिएको छ ।

भारतले नेपालमा गरेको नाकाबन्दीको समयमा र त्यसपछि २०७८ सालमा पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको आन्दोलनका कारण पनि इन्धन अभाव भएको थियो ।अहिले नेपाल पेट्रोलियम ट्यांकर चालक संघको आन्दोलनका कारण आइतबारबाटै राजधानीका निजी पेट्रोल पम्पहरुले पेट्रोलियम पदार्थको बिक्री रोकेका छन् ।

अधिकांश निजी पम्पमा ‘पेट्रोल छैन’ लेखिएको सूचना टाँस गरिएको छ । खुलेका केही पेट्रोल पम्पहरुमा भने लामो समय पालो पर्खनुपर्ने बाध्यता छ । गर्मीको बेला लामो समयसम्म लाइनमा बस्नुपर्दा सवारी चालकहरु हैरान छन् ।

पेट्रोलियम मजदुरहरुले सबै ट्यांकर चालक/सहचालकको श्रम ऐन अनुसार नियुक्ति पत्र दिई नेपाल सरकारले तोके अनुसार तलबको व्यवस्था गर्न माग गरेका छन् ।