७ असार, काठमाडौं । प्रथम सहकारी रोजगार मेला-२०८१ शुक्रबारदेखि ललितपुरमा सुरु भएको छ ।
राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले तीन दिने रोजगार मेला आयोजना गरेको हो ।मेला उद्घाटन गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले युवाको भावना अनुरूप सहकारी क्षेत्रले काम गर्नुपर्ने बताए ।
सहकारी रोजगार मेलाले यस क्षेत्रका रोजगारदाता र रोजगारी खोज्ने युवाबीच सेतुको काम गर्ने उनको भनाइ छ ।
अर्को प्रसंगमा मन्त्री अधिकारीले एउटै व्यक्ति दुई तीन वटा सहकारीको सञ्चालक रहनु अहिले सहकारी क्षेत्रमा देखिएको समस्याको प्रमुख कारण रहेको बताए ।सहकारी क्षेत्रले उत्पादन गरेका वस्तुको बजारीकरण गर्ने जिम्मेवारी अब सरकारले लिने उनको भनाइ छ ।
राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले देश छोडेर विदेश जाने युवालाई नेपालको सहकारी क्षेत्रमा स्वरोजगार हुने अवसर र राम्रो सेवा सुविधा सहितको रोजगार छ भने जानकारी गराउन मेला आयोजना गरिएको बताइन् ।
सहकारीले उत्पादन गरेका वस्तुको बजारीकरण र सहुलियत ऋणको व्यवस्थापन सरकारले नगर्दा यस क्षेत्रका किसान विस्थापित हुने अवस्थामा रहेको उनको भनाइ छ ।
सहकारीले २५ बढी चिया उद्योग र दैनिक २५ हजार लिटर बढी दूध उत्पादन गर्दै आएको उनले जानकारी दिइन् ।सहकारी रोजगार मेलामा सहकारी क्षेत्रका ३० बढी स्टल छन् । मेला पाँच हजार बढीले अवलोकन गर्ने अनुमान छ ।
