२३ असार, काठमाडौं । इंग्ल्याण्डका फरवार्ड बुकायो साकाले आफ्नो टिमका खेलाडीहरुको जीवन परिवर्तन गर्न र इतिहास बनाउनका लागि अब दुई खेल मात्र टाढा रहेको बताएका छन् ।
जर्मनीमा जारी युरो २०२४ अन्तर्गत स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै सेमिफाइनल पुगेपछि साकाले यस्तो बताएका हुन् ।सन् २०२० को युरो फाइनलमा इटलीविरुद्ध साकाले पेनाल्टी मिस गरेका थिए।
जहाँ इंग्लयाण्ड पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बनेको थियो । इटलीविरुद्ध पेनाल्टी मिस गरेपछि आफूले पेनाल्टी हान्न अझै धेरै अभ्यास गरेको बताए ।यसपटक इंग्ल्याण्डले स्वीट्जरल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ गोलले हरायो ।
‘हामीलाई थाहा छ । अब दुई खेल बाँकी छ र जसले हाम्रो जीवन परिवर्तन गर्न सक्छ र केही इतिहास पनि बन्नेछ जुन अहिलेसम्म भएको छैन ।’ साकाले भने । ‘हामीले अहिले त्यसैमा केन्द्रित छौँ । हामी आजको रात रमाइलो गर्छौँ र अर्को खेलमा केन्द्रित हुनेछौँ ।’ साकाले स्वीट्जरल्याण्डलाई हराएपछि भनेका छन् ।
इंग्ल्याण्डका प्रशिक्षक ग्यारथे साउथगेटले पनि आफ्नो टिम ऐतिहासक बनाउनबाट केही कदम टाढा रहेको बताएका छन् ।इंग्ल्याण्डले युरो २०२४ को दोस्रो सेमिफाइनलमा बुधबार नेदरल्याण्ड्ससँग डर्टमण्डमा खेल्नेछ ।
