६ भदौ,काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं-पोखरा सडकखण्ड २४ घण्टादेखि अवरुद्ध बनेको छ ।

तनहुँ घाँसीकुवामा हिजो बुधबार साँझ खसेको पहिरो आजसम्म हटाउन नसक्दा सडक अवरुद्ध बनेको हो । सडकको पहिरो बिहीबार बिहानैबाट हटाउन सुरु गरिएको थियो । तर सडकमा ठूला रुखसहित पहिरोले खसेकाले पहिरो हटाउन समय लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको छ ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपाली सेनाको टोली बाटो खुलाउने काममा खटिएका छन् । मुख्य राजमार्ग अवरुद्ध भएपछि साना तथा ठूला सवारी साधनहरुलाई अलग-अलग वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

दमौलीबाट तालघरे, दरैपधेँरा हुँदै घाँसीकुवा निस्किने बाटोलाई वैकल्पिक बाटोका रुपमा प्रयोग गरिएको थियो ।तर वैकल्पिक बाटोसमेत साँघुरो र हिलाम्मे हुँदा साना तथा ठूला सबै सवारीसाधन लामो समयदेखि जाममा बस्न बाध्य छन् । बिहानैदेखि सवारी जाममा परेपछि यात्रुसमेत समस्यामा परेका छन् ।