२४ भदौ, काठमाडौं । किर्ते मुद्दामा पक्राउ परेका लुम्बिनीका प्रदेश सभा सदस्य धनबहादुर केसी डिबी कारागार नै नबसी रिहाइ भएका छन् ।

३३ वर्ष पुरानो मुद्दामा दोषी ठहर भइ अदालतले जेल चलान गर्न आदेश दिएको थियो । अदालतले उनलाई फौजदारी अपराधसंहिता २०७४ को सुविधा अनुसार एक वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान बमोजिम १ लाख ९ हजार २ सय रुपैयाँ बुझाएर रिहा भएका हुन् ।

श्रीमतीसँगको अंश मुद्दामा किर्ते गरेको अभियोगमा साविक रुकुम जिल्ला अदालतले उनलाई ०४८ साल असार ९ गते दोषी ठहर गरेको थियो । एक वर्ष जेल सजाय र २ हजार जरिवाना तोकिएका सांसद केसीले आइतबार रुकुम पूर्व जिल्ला अदालतमा उपस्थित भएका थिए । अदालतबाट दोषी ठहर भएका केसीलाई आइतबार नै कारागार चलान गर्न भनिएको थियो ।

तर पूर्व रुकुममा कारागार नभएकाले उनलाई रुकुम पश्चिमको कारागारमा पठाइएको थियो । कारागार स्रोतका अनुसार प्रहरीले भने सांसद केसीलाई कारागारमा नै राखेन । दिउँसो ३ बजे रुकुम पश्चिम ल्याएपछि उनलाई दिनभर प्रहरीले आफ्नै नियणन्त्रणमा राख्यो ।

कारागारको उच्च स्रोतले भन्यो तर उनलाई कारागार नै लगिएन । बरु आइतबार राति नै सांसद केसीलाई उनको सहयोगीसहित जेलर ताराबहादुर कुँवरको तल्लाको तलाको कार्यकक्षमा राखियो । जेलरको कार्यकक्ष भाडामा लिएको अफिस हो । स्रोतका अनुसार उनलाई कारागारको गेट बाहिर भएको जेलर कुँवरको कार्यकक्षमा रातभर राखिएको थियो ।

सोमबार बिहानसम्म पनि उनलाई कारागार नराखी सिधै अदालत पुर्‍याइएको थियो ।