नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएको छ । मनसुन लम्बिँदा जल तथा मौसम विज्ञान विभागले किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः अक्टोबर–२ देखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि यसपाली मनसुन केही दिन लम्बिएको बताउनुभयो । उहाँले अझै मनसुन बाहिरिन झण्डै हप्ता दिन लाग्नसक्ने अनुमान रहेको बताउनुभयो । यो बेलामा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको विहार र पश्चिम बङ्गाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रसमेतको प्रभाव रहेको छ । अबको केही दिन मौसम बदली हुने र ठाउँठाउँमा वर्षासमेत हुने भएकाले यो बेलामा किसानले विशेष ख्याल गर्नुपर्ने उहाँले बताउनुभयो । अहिले धानबाली भित्राउने बेला भएकाले काटेको धान छ भने भित्राइहाल्न र काट्ने बेलाको धान छ भने तत्काल नकाट्न मौषमविदको आग्रह छ । उहाँका अनुसार नेपालमा पश्चिमबाट मनसुन बाहिरिन्छ भने पूर्वबाट भित्रिन्छ । यो वर्ष नेपालमा जनु १४ अर्थात् जेठ ३१ मा मनसुन भित्रिएको थियो ।
