२९ चैत, काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई आज काठमाडौं ल्याउन लाग‍िएको सुरक्षा स्रोतले जनाएको छ । त्यसका लागि विशेष व्युरो र अपराध अनुसन्धान कार्यालयको टोली नेपाल-भारत सीमा क्षेत्रमा पुगिसकेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको हिंसात्मक प्रदर्शनपछि प्रसाईं फरार भएका थिए । उनी झापाको काँकडभिट्टा नाका हुँदै भारत पसेको सूचना पाएपछि प्रहरीले भारतीय प्रहरीसँगको समन्वयमा खोजी जारी राखेको थियो । उनलाई खोज्न नेपाल प्रहरीका तीन विशेष टोली भारत नै पुगेको स्रोतले जनायो ।

प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।