बीरगञ्ज निवासी सन्नी द्विवेदीले संचालन गरेको न्युट्रिका फूड कन्सर्नमार्फत भारतको युनाइटेड ल्याबोरेटोरिजको ‘न्युट्रिक क्योर क्याप्सुल’ नामक उत्पादन विभागमा (दर्ता नं ३५२०) दर्ता गराइएको थियो ।  तर उक्त कम्पनीले नेपालमा अगुष्तो फर्मुलेसनको उत्पादन बिक्रीका लागि भित्र्याएका थिए, जुन स्वीकृति नलिई ल्याइएको प्रमाणित भएको छ ।

यसैबीच, भन्सार प्रक्रियाबिना क्यारिङमार्फत भारत–नेपाल सीमाबाट रक्सौल भन्सार हुँदै नेपाल ल्याउँदै गर्दा सो उत्पादन सशस्त्र प्रहरी बलले बरामद गरेको हो । उक्त वस्तु न्युट्रिका फूड कन्सर्नले नै आयात गरेको भए ता पनि ‘मार्केटेड बाईः बायोलाइफ केम नेपाल, भिमसेनगोला–३१, काठमाडौं’ लेखिएको देखिएको छ, जुन कम्पनी विभागमा दर्ता नभएको पाइएको छ ।

यस प्रकरणले गम्भीर मोड लिएको छ । युनाइटेड ल्याबोरेटोरिजले आफ्नो कम्पनीको नाम प्रयोग गरी गलत नियतले बजारमा उत्पादित वस्तु प्रवाह गरिएको भन्दै नेपाल आहारपुरक तथा सौन्दर्यवद्र्धक संघ (एनएनसिए) मार्फत विभागलाई पत्राचार गरेको छ । युनाइटेडले पत्रमा स्पष्ट भनेको छ—‘हाम्रो कम्पनीको नाम बदनाम बनाउने काम गरिएको छ, यसले हाम्रो व्यावसायिक छविमा नकारात्मक असर पारेको छ ।’


एनएनसिएका महासचिव सुरज पौडेलका अनुसार, दुवै भारतीय कम्पनी—अगुष्तो र युनाइटेड—ले संघमा सम्पर्क गरी घटनाको जानकारी दिएका थिए । घटनापछि एनएनसिएले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णलाई भेटेर आवश्यक कारबाहीको माग गरेको छ ।


महानिर्देशक कर्णले घटनाको गम्भीरता बुझ्दै तुरुन्त छानबिन थालिने र कानून विपरीत काम गर्ने व्यवसायीमाथि कारबाही गरिने आश्वासन दिएका छन् ।


एनएनसिएका अध्यक्ष विप्लव रञ्जितले भनेका छन्—‘केही व्यवसायीको गैरकानुनी गतिविधिका कारण सम्पूर्ण खाद्यपुरक व्यवसायी समुदायको छवि धुमिल हुन थालेको छ । संघ कुनै पनि हालतमा गैरकानुनी रूपमा काम गर्ने व्यवसायीको पक्षमा उभिँदैन ।’


यस घटनाले नेपालमा खाद्यपुरक वस्तुको दर्ता र नियन्त्रण प्रणालीमाथि पनि प्रश्न उठाएको छ ।  प्रश्न यहीँ उब्जिन्छ — यदि दर्ता प्रक्रिया नै छल्ने प्रवृत्ति दोहोरिरह्यो भने, कसरी भरोसा गर्ने उपभोक्ताले फुड सप्लिमेन्टमा ? यो एउटा सानो लफडा हो कि ठुलो नियोजित खेल ? समयले देखाउनेछ । 

augusto-1746259434.jpg