४ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार भएको आफ्नो पाँचौं खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले हराएको हो ।
नेपालले दिएको १४० रनको लक्ष्य पछ्याएको रेनेगेड्स २० ओभरमा १०६ रनमा अलआउट भयो । नेपाल हालसम्म खेलेका ५ खेलमध्ये सुरुवाती ३ खेलमा लगातार पराजित हुँदा त्यसपछि लगातार २ जित निकालेको हो । नेपाल पहिलो खेलमा एनटी स्ट्राइकसँग ४२ रनले पराजित भएको थियो भने दोस्रो खेलमा बंगलादेश ए सँग ३२ रनले तथा तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भएको थियो ।
मंगलबार भएको चौथो खेलमा भने नेपाल होबार्टविरुद्ध ६६ रनले विजयी भएको थियो । नेपाल हाल ५ खेलमा ४ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्ने प्रावधान छ ।
नेपालले यसपछि शुक्रबार पाकिस्तान शाहीन्ससँग खेल्नेछ ।
