आइतबार अहमदावादको नरेन्द्र मोदी स्टेडियममा न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै भारत तेस्रो पटक टी-२० विश्वकप च्याम्पियन बनेको छ। लगातार दोस्रो पटक उपाधि जितेको भारतले यसअघि सन् २०२४ र २००७ मा विश्वकपको उपाधि जितेको थियो।

आइतबार भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड १९ ओभरमा १५९ रनमै अलआउट भयो। ठूलो लक्ष्य भएका कारण न्युजिल्यान्ड सुरुमै दबाबमा पर्दा लगातार विकेट गुमायो। उसका लागि ओपनर टिम सेइफर्टले २६ बलमा ५२ रन बनाउँदा अरु ब्याटर चल्न सकेनन्। बलिङमा भारतका जसप्रित बुमराहले ४ विकेट लिए। उनले ४ ओभरमा १५ रन मात्र दिए। 

त्यसअघि टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि अहमदावादको नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको भारतले ५ विकेटको क्षतिमा २५५ रन बनाएको हो। भारतका लागि शीर्ष तीन ब्याटरले अर्धशतक प्रहार गरे। सन्जु सामसनले नटआउट ८९ रन बनाउने क्रममा ४६ बल खेलेर ५ चौका र ८ छक्का प्रहार गरे। अर्का ओपनर अभिषेक शर्माले २१ बलमा ५२ रन बनाए। उनले ६ चौका र ३ छक्का प्रहार गरे। ७.१ ओभरमा शर्मा आउट भएपछि ब्याटिङमा आएका इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५४ रन बनाए। कप्तान सूर्यकुमार यादव भने शून्यमा आउट भए। तीनै जनालाई १६औं ओभरमा जिम्मी निशमले आउट गरेका थिए। त्यसपछि हार्दिक पाण्ड्याले १३ बलमा १८ रन बनाउँदा शिवम दुवेले ८ बलमा नटआउट २६ रन बनाए। दुवेले अन्तिम ओभरमा जिमी निशमलाई ३ चौका र २ छक्का प्रहार गर्दै २४ रन जोडेका थिए। 

बलिङमा न्युजिल्यान्डका निशमले ३ विकेट लिए भने रचिन रवीन्द्र र म्याट हेनरीले १-१ विकेट हात पारे।