नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले सानदार सुरूआत गरेको छ। शेर मल्ल र किशोर महतोको उत्कृष्ट बलिङमा सुदूरपश्चिम रोयल्सलाई ८७ रनमै समेटेको लुम्बिनीले ८८ रनको लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीका ओपनर डार्सी सर्ट र आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै टोलीलाई सहज जितको बाटोमा अघि बढाए। पहिलो विकेटका लागि यी दुईले ७१ रनको साझेदारी गरेपछि लुम्बिनीले खेलमा बलियो पकड बनाएको थियो।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स लुम्बिनीका शेर मल्ल र किशोर महतोको घातक बलिङसामु टिक्न नसक्दा १७.२ ओभरमा ८७ रनमै समेटिएको थियो। किशोरले ४ विकेट तथा शेर मल्लले ३ विकेट लिएपछि सुदूरपश्चिमको ब्याटिङ धराशायी बनेको थियो।
अघिल्लो सिजनको एनपीएल फाइनलमा पनि यी दुई टोली भिडेका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनीले उत्कृष्ट बलिङ र आक्रामक ब्याटिङको मद्दतमा सुदूरपश्चिममाथि प्रभावशाली जित निकाल्दै प्रतियोगितामा सुखद सुरूवात गरेको छ।
