भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले इन्जिनियरहरू निजामती सेवामा सातौँ तहदेखि सेवा प्रारम्भ गर्ने व्यवस्था गर्न आफूले प्रयास गर्ने बताउनुभएको छ । आज बुधवार काठमाण्डाैमा आयोजित नेपाल इन्जिनियरिङ एशोसिएशनको १६ औँ राष्ट्रिय सम्मेलनमा मन्त्री ज्वालाले प्राविधिक कार्यालयहरूको नेतृत्व प्राविधिकहरूले नै गर्न पाउने इन्जिनियरहरूको माग जायज रहेको उल्लेख गर्दै त्यसलाई सम्बोधन गराउने काममा पनि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले धेरै महत्त्वपूर्ण निकायहरूमा छुट्टै इन्जिनियरिङ शाखाको स्थापना गर्न सकिने आश्वासनसमेत दिनुभयो ।
