कोरोनाकालमा लुम्बिनी भ्रमणमा आउन नपाएका आन्तरिक तथा बाह्य पर्यटक पछिल्लो समय उल्लेख्य मात्रामा बढ्दा कोरोनाले सुस्ताएको लुम्बिनीको पर्यटन लयमा फर्कन थालेको सङ्केत देखिएको छ । कोषको तथ्याङ्कानुसार सन् २०२३ मा ७६ हजार दुई सय १० जना तेस्रो मुलुकका पर्यटक लुम्बिनी आएका छन् । यसमध्ये सबैभन्दा धेरै सार्क मुलुकअन्तर्गतको श्रीलङ्काबाट सोह्र हजार एक सय ७२ जना पर्यटकले लुम्बिनी भ्रमण गरेको सूचना शाखाले जनाएको छ ।
त्यसपछि थाइल्याण्डबाट १५ हजार सात सय २१, भियतनामबाट १० हजार चार सय १४ र म्यानमारबाट १० हजार तीन सय ७० जनाले लुम्बिनी भ्रमण गरेको तथ्याङ्क रहेको छ । यसबाहेक चीनबाट छ हजार एक सय १३, दक्षिण कोरियाबाट पाँच हजार तीन सय दुई, जर्मनीबाट दुई हजार एक सय ९८, कम्बोडियाबाट दुई हजार एक सय ४९ जनाले भ्रमण गरेका छन् ।
सन् २०२१ मा जम्मा एक हजार एक सय ९७ जना तेस्रो मुलुकको पर्यटक लुम्बिनी पुगेका थिए । यो सङ्ख्या सन् २०२२ मा कैयौँ बढेर २३ हजार नौ सय ४२ पुगेको थियो भने त्यसको तीनगुणा बढी सन् २०२३ मा ७६ हजार दुई सय १० पुगेको छ ।
विदेशी पर्यटक अधिकांश भियतनाम, जर्मनी, फ्रान्स, चीन, रसिया, स्पेन, थाइल्याण्ड, युके र अमेरिकाका रहेका छन् । यीबाहेक तीन दर्जन बढी देशका पर्यटक पनि लुम्बिनी आएका छन् ।
