‘जीवन र खाद्यको आधार हो पानी’ भन्ने नारासहित कृषि विभागले आयोजना गरेको ४३ औँ विश्व खाद्य दिवसमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले किसानलाई ‘चैते धान अभियान’ चलाउनुपर्ने बताउनुभएको छ । भारतले धान निर्यात बन्द गरेको उल्लेख गर्दै अब चैते धान अभियान चलाउनुपर्ने बताउनुभयो ।

भारतले निर्यात गर्ने धानको अभाव पूर्ति गर्न एक लाख हेक्टर क्षेत्रफलमा चैते धान लगाऊँ । छ लाख मेट्रिक टन धान उत्पादन गरौँ, मन्त्री भुसालले भन्नुभयो। सिँचाइ, आवश्यक कृषि औजार र मलको समस्या समाधान गरियो भने खाद्यमा समस्या हुँदैन । रासायनिक मलको कटौती गरेर प्राङ्गारिक तथा जैविक मलमा वृद्धि गर्नुपर्छ । बगेको पानीको सही व्यवस्थापन गरेर कृषिमा प्रयोग गर्न सके सिँचाइको समस्या नहुने उहाँले दाबी गर्नुभयो ।

कार्यक्रममा मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले साना किसानले उत्पादन गरेको वस्तुलाई उद्योगका रुपमा रुपान्तरण गर्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो साना किसानलाई एकजुट गरेर उत्पादन गरेको कृषि सामग्रीलाई उद्योगमा रुपान्तरण गर्नुपर्छ । पौडेलले किसानलाई वित्तीय सहयोग गर्न कृषि विकास बैंकले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

उक्त कार्यक्रममा विभिन्न आठ विधाका कृषकहरुलाई सम्मान गर्नुका साथै चित्रकला र साहित्य लेखन विधिमा समेत सम्मान तथा पुरस्कृत गरिएको थियो।

By