बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार अर्धशतकीय इनिङ्स खेले । पौडेलसँग उत्कृष्ट साझोदारी गरेका दिपेन्द्र सिंह ऐरीले समेत ३४ रन बनाए ।
पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । निकै खराब सुरुआत गरेको यूएईका लागि बासिल हामिदले ५१ रनको अर्धशतकीय इनिङ्स खेल्दै टोलीलाई उकासेका थिए ।
नेपालका लागि करण केसीले ३ विकेट हात पारेका थिए । गुल्सन झाले २ तथा अबिनाश बोहरा र सोमपाल कामीले समान एक-एक विकेट हात पारे । टी २० विश्वकप छनोट खेल्न लागेको नेपालले तयारी स्वरुप सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल, युएई र हङकङ समावेश छन् । नेपालले सिरिजको दोस्रो खेलमा भोलि बिहीबार हङकङसँग खेल्नेछ ।
