सन् २०१४ मा बंगलादेशमा भएको टी-२० विश्वकपमा नेपालको खेल हेरेर क्रिकेट खेल्ने सपना देखेका रोहित पौडेल अहिले नेपाली क्रिकेट टिमको कप्तान छन् । उनको लक्ष्य छ, नेपाललाई फेरि टी-२० विश्वकपमा छनोट गराउने । सन् २०१४ पछिका तीनवटा टी-२० विश्वकपमा नेपाल छनोट हुन सकेन । यस पटक घरेलु मैदानमै टी-२० विश्वकपको एसिया क्षेत्रको छनोट हुँदैछ र त्यसमा उत्कृष्ट प्रदर्शन गरेर विश्वकपमा पुग्ने लक्ष्य नेपाली टिमको छ ।
नेपाली टिममा अहिले युवा खेलाडी धेरै छन् । २०१४ मा टी-२० विश्वकप खेलेका दुई जना सोमपाल कामी र विनोद भण्डारी मात्र अहिलेको टिममा छन् । बाँकी खेलाडी विश्वकप खेल्ने सपना पूरा गर्न लागिपरेका छन् । यस पटक सबै खेलाडी, प्रशिक्षक र समर्थक नेपाल टी-२० विश्वकपमा पुग्नेमा आशावादी छन् । कप्तान रोहित पनि नेपाल छनोट हुने उच्च सम्भावना रहेको बताउँछन् । तर टी-२० गेम हो जे पनि हुन सक्छ, जस्तो पनि हुन सक्छ’, रोहितले भने, ‘कुनै पनि टिमलाई सजिलो लिएका छैनौँ । हरेक गेम जित्ने लक्ष्यका साथ हरेक खेलमा केन्द्रित हुनेछौँ ।’
