प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रिकेट रङ्गशाला निर्माणको कामलाई तीव्रता दिन रङ्गशाला निर्माणको कामलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी काम गरिने बताउनुभएको छ । टी–२० विश्वकपमा छनोट भएको उपलक्ष्यमा सम्मान तथा अघिल्ला प्रतियोगिताहरुमा घोषणा गरिएको पुरस्कार रकम वितरण कार्यक्रममा आज मङ्गलबार बोल्दै प्रधानमन्त्रीले क्रिकेटमा नेपालको निकै राम्रो सम्भावना देखिएको भन्दै त्यसका लागि सरकारले जुनसुकै हद्सम्म गएर भए पनि रङ्गशाला बनाउने बताउनुभयो ।

उहाँले खेलाडीलाई घोषणा गरेको पुरस्कार वितरणमा ढिलो हुँदा अफूलाई नमिठो लागेको उल्लेख गर्नुभयो । प्रचण्डले भन्नुभयो, ‘हाम्रो केही कानुनी र प्रक्रियागत समस्याहरू छन् । त्यसले पनि ढिलो हुन गयो । आउँदा दिनमा त्यस्तो नहोस् भन्नेमा अब सरकारले सचेतता अपनाउने छ । टी–२० विश्वकपमा छनोटको पुरस्कार छिटै वितरण गरिनेछ ।’

कार्यक्रममा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले सरकारले क्रिकेट खेललाई दिएको महत्त्वबाट आफूहरु उत्साहित भएको बताए । उनले भने, ‘यो महत्त्वपूर्ण सम्मानका लागि प्रधानमन्त्री र नेपाल सरकार प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाल सरकारले क्रिकेट खेललाई उच्च प्राथमिकता दिएकोमा खुशी छौँ । कीर्तिपुर क्रिकेट रङ्गशालामा फ्लड लाइट जडान, क्रिकेट मैदानको प्रक्रिया अगाडि बढाउनु भएकोमा हार्दिक धन्यवाद छ । सरकारको पहलप्रति आभारी छौँ । बाँकी रहेका कामहरू पनि छिट्टै पूरा हुने विश्वास लिएका छौँ ।’

By