पूर्वराजा ज्ञानेन्द्र शाहले झापामा निर्माण गरिएको पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन् । विर्तामोड–१ मा सञ्चालित इकम कलेज परिसरमा स्थापना गरिएको शालिक शनिबार दिउँसो उनले अनावरण गरेका हुन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संयोजन गरेको कार्यक्रममा पुगेर उनले शालिक अनावरण गरेका हुन् ।
कार्यक्रमका लागि पूर्वराजा शाह शुक्रबार झापा पुगेका थिए । उनी बसेको धुलाबारीस्थित होटल मेची क्राउनबाट नारावाजी र र्यालीसहित विर्तामोडस्थित कार्यक्रमस्थलमा ल्याइएको थियो । राप्रपाका कार्यकर्ताहरुले राजतन्त्रको पक्षमा नारावाजीसहित उनलाई विर्तामोडसम्म ल्याएका थिए । विर्तामोडस्थित भाटभटेनी सुपरमार्केट नजिकबाट पूर्वराजा शाह हिँड्दै कार्यक्रम स्थलतिर गएका थिए । त्यतिबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध समेत नारावाजी भएको थियो ।
