ताइवानको राजधानी ताइपेईमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । आज बिहान स्थानीय समय अनुसार बिहान ७:५८ बजे ७.४ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पपछि टापु र यसका छिमेकी देशहरू जापान र फिलिपिन्सले सुनामीको चेतावनी जारी गरेका छन् ।
हुवालिएन केन्द्रविन्दु रहेको भुकम्पका कारण केही भवन ध्वस्त भएको ताइवानी सञ्चार माध्यमले जनाएका छन् । भूकम्पबाट अहिलेसम्म कुनै मानविय क्षति सार्वजनिक भएको छैन । ताइवानका अधिकारीहरुले आज विद्यालय बन्द गर्ने भएका छन्। चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार चीनका चचिआङ, फुचिआन, चिआङ्सु, क्याङ्तोङ प्रान्त तथा साङ्हाई क्षेत्रमा पनि भूकम्प महसुस भएको छ ।
त्यस्तै जापानका ओकिनावा, मियाकोजिमा र याएयामा टापुका बासिन्दालाई अन्यत्र सर्न आग्रह गरिएको छ । जापानी अधिकारीका अनुसार सुनामीका कारण सामुद्रिक छाल ३ मिटरको उचाइसम्म जान सक्ने सम्भावना रहेको जनाएका छन् ।
ताइवानको आधिकारिक स्थानीय अखबार ताईपेई टाइम्सका अनुसार आज बिहान गएको भूकम्प सन् १९९९ मा गएको ७ दशमलव ६ म्याग्निच्युडको भुकम्पपछिको सबैभन्दा ठूलो भूकम्प भएको उल्लेख गरेको छ । उक्त भूकम्पमा परी २ हजार ४ सय जनाको ज्यान गएको थियो ।
