काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय भण्डारमा भीषण आगलागी भएको छ । भण्डारमा विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आकलन गरिएको छ । साँझ पौने ५ बजे लागेको आगो नियन्त्रण गर्न काठमाडौं, ललितपुर र सशस्त्र प्रहरी बलको ८ वटा दमकललाई घण्टौं लागेको थियो।
सशस्त्र प्रहरी बलले केन्द्रीय गोदाम हल्चोकमा राख्न नअटाएको सामान बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको परिसरमा साइट गोदाम बनाएर सशस्त्र प्रहरी बलका अधिकृतदेखि जवानसम्मका लागि चाहिने पोसाक, विपद् व्यवस्थापनका सामान, भीड नियन्त्रणका लागि प्रयोग गरिने सामानलगायतका विभिन्न सामान उक्त गोदाममा राखेको थियो।
घटनास्थलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायत पुगेका थिए ।उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेले हिजो बेलुका बलम्बु पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिनुका साथै छानबिन गर्न निर्देशन दिनुभएको थियो ।
