२० असोज, काठमाडौं । सुदूरपश्चिम र कर्णाली प्रदेशबाट मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बुलेटिन जारी गरी सुदूरपश्चिमको पूरै र कर्णाली प्रदेशका धेरै भागबाट मनसुन बाहिरिएको जानकारी दिएको हो । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका थोरै भागबाट पनि मनसुन बाहिरिएको छ ।
पूर्वी वायु अर्थात् मनसुनी वायुलाई पश्चिमी वायुले प्रतिस्थापन गर्यो भने मनसुन बाहिरिएको भनिन्छ । पूर्वी नेपालबाट भित्रिने मनसुन पश्चिमबाट बाहिरिन सुरु गर्दछ । मनसुन बाहिरिने क्रममा भारतको मध्यप्रदेश, उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिममा पश्चिमी वायु प्रवेश गर्दछ ।
भारतको मौसम विज्ञान विभागले सेप्टेम्बर २३ तारिक (असोज ७ गते) देखि नै भारतका विभिन्न स्थानबाट मनसुन बहिर्गमन सुरु भइसकेको जनाएको थियो । उसले जारी गरेको अद्यावधिक नक्सामा अरब सागरको केही भाग, मध्य प्रदेशका केही भाग, उत्तर प्रदेशका केही भाग, उत्तराखण्ड र नेपालको सुदूरपश्चिमका केही भागबाट मनसुन बाहिरिएको देखाइएको थियो ।
नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिएर अक्टुबर २ मा बाहिरिन्छ । तर यस वर्ष सरदर मितिभन्दा तीन दिन अघि अर्थात् जुन १० (जेठ २८ गते) मनसुन भित्रिएको थियो । र, मनसुन बहिर्गमनको सरदर मिति (अक्टुबर २) भन्दा झण्डै एक हप्तापछि मनसुन बाहिरिन सुरु गरेको छ ।
