गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा बृद्धि भएसँगै यहाँका कृषकले मनग्य आम्दानी गरेका छन्।

गत वर्षको तुलनामा सुन्तलाको उत्पादनमा वृद्धि भएसँगै यहाँका कृषक खुसी भएका छन्। जिल्लामा यस वर्ष २४ करोड ५० लाख मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले जानकारी दिए। गत वर्ष २३ करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको थियो। जिल्लामा उत्पादित सुन्तलामध्ये यस पटक १३ करोडभन्दा बढी सुन्तला जिल्ला बाहिर लगेर बिक्री गरिएको कार्यालय प्रमुख धितालले बताए।  

गुल्मीबाट गत वर्ष १२ करोड बराबरको सुन्तला जिल्ला बाहिर बिक्री गरिएको थियो। मल उपलब्ध हुनु तथा सिँचाइको सुविधा, सुन्तलाको बोट काँटछाँट गर्नु र सुन्तलाको क्षेत्र विस्तार हुँदै गएका कारण उत्पादनमा वृद्धि भएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गा पोख्रेलले बताइन्। जिल्लामा कृषकले सुन्तलाको बगैँचामा बिजु बिरुवा लगाउने गरेका छन्। कलमी बोटले भन्दा बिजु बिरुवाले लामो समयसम्म फल दिने भएका कारण यहाँका कृषकले बिजु बिरुवा लगाउँदै आएका छन्।

गुल्मीको सुन्तलाको माग अत्यधिक छ। सुन्तला खरिद गर्नका लागि बुटवल, पाल्पा, अर्घाखाँचीलयागतका स्थानबाट व्यापारी बगैँचामै पुग्ने गरेका छन्। अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकिलो रु ८० देखि ‍ एक सयसम्ममा बिक्री हुँदै आएको छ। 

सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयागाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, श्रृङ्गा, रेसुङ्गा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङ्कोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्रका रुपमा रहेका छन्।