बिहीबार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको दोस्रो स्थानमा पुगेको छ।
विश्वको वायुको गुणस्तरको अवस्था उल्लेख गर्ने पोर्टल आइक्यु एयरकाअनुसार बिहीबार बिहान साढे ११ बजे काठमाडौंको एक्युआइ (वायुको स्वच्छता सूचकांक) १८३ पुगेको छ। जसले काठमाडौंको वायुको अवस्था खराब दर्शाउँछ।
एक्युआइ इन्डेक्सअनुसार ०–५० अंक स्वच्छ वायु, ०५१–१०० मध्यम, १०१ देखि १५० अंक संवेदनशील समूहका लागि जोखिमयुक्त र त्यसभन्दा माथिको अंकलाई हानिकारक वायु मानिन्छ।
पूर्व–पश्चिम, पृथ्वी राजमार्ग, सूर्यविनायक, धुलिखेल, बिपी राजमार्गमा अहिले स्तरोन्नतिको काम भइरहेको छ।
ती राजमार्गमा सडक चौडा पार्ने र पूर्वाधार बनाउने काम भइरहेकाले धुलो उड्दा वायु प्रदूषण भइरहेको छ। काठमाडौं उपत्यकाभित्रै पनि तार भूमिगत गर्ने, फुटपाथ बनाउने लगायतका काम भइरहेकाले वायु प्रदूषणलाई सघाएका छन्।
हिउँद याममा पानी नपर्दा पनि वायु प्रदूषण नघटेको वातावरण विभागले जानकारी दिएको छ। यसका अलावा बन डढेलोका घटना पनि बढेका छन्। यी कारणले विभिन्न सहरको वायुको गुणस्तर अत्यन्तै कमजोर बनेको हो।
