काठमाडौँ । अवैध रूपमै ठूलो परिमाणको रकम बोकेको ट्रकसहित एक व्यक्ति राजधानीको टोखा क्षेत्रबाट पक्राउ परेका छन्।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले टोखा नगरपालिका–१, झोर क्षेत्रबाट गएराति अनुमानित २५ करोड रकमसहित एक जनालाई नियन्त्रणमा लिएको हो।

कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट नेपाली रुपैयाँसँगै अमेरिकी डलर, युरो र अन्य देशका मुद्राहरू समेत बरामद गरिएको छ। रकम ना १ ख १६५२ नम्बरको ट्रकमा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो।

पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको भए पनि प्रारम्भिक अनुसन्धानमा यो रकम शंकास्पद देखिएको र स्रोत खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार विदेशी मुद्रा समेत भेटिएकोले यसमा अवैध कारोबार, हुण्डी वा अन्य आपराधिक संलग्नता हुनसक्ने आशंका गरिएको छ।