तीन दिने कार्यक्रम तय गरेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार लुम्बिनी प्रदेश आइपुगेकी छिन् । भण्डारीले पछिल्लो समय देखाएको सक्रियताले एमाले वृत्तमा चर्चा पाउने गरेको छ ।
एमाले निकटस्थ नेताहरूका अनुसार आजै साँझ भैरहवास्थित होटल सिद्धार्थ भिलासामा भण्डारीले भेटघाटका कार्यक्रम तय गरेकी छिन् ।
यद्यपि भेटघाटका पात्रहरू भने खुलाइएको छैन । एमालेकै नेताहरूको भनाइ अनुसार, अन्य कार्यक्रम तय भएका भए पनि भण्डारीले लुम्बिनीमा आफ्नो राजनीतिक सक्रियता बढाएकी हुन् । ती नेताका अनुसार भण्डारी शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीमा हुने कार्यक्रममा सरिक हुनेछिन् ।
शनिबार भैरहवामा लुम्बिनी प्रदेशका स्थानीय र प्रदेशका सबै पार्टीबाट निर्वाचित महिला जनप्रतिनिधिको सशक्तिकरण कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
रुपन्देहीकै एक पालिका उपप्रमुखका अनुसार पूर्वराष्ट्रपति भण्डारीकै आग्रहमा ती कार्यक्रम तय भएको हो ।
बिहीबार उनी पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने कामाख्या देवीको दर्शनका लागि पुगेकि थिइन् । जहाँ उनीसँगै एमाले सचिव एवं लुम्बिनी इन्र्चा पद्मा अर्याल, पूर्वमुख्यमन्त्री लिला गिरी, पूर्व राष्ट्रियसभा सदस्य खिमलाल भट्टराई, पूर्व प्रदेशसभा सदस्य दधिराम न्यौपाने, प्रदेशसभा सदस्य जानकी न्यौपो, बुटवल उपमहानगरकी उपप्रमुख सावित्रा अर्याल, सिद्धार्थनगरकी उपप्रमुख उमा अधिकारी, बुटवलकी पूर्वउपप्रमुख गोमा आचार्य लगायत उपस्थित थिए ।
उनी तीन दिनसम्म सिद्धार्थ भिलासामै बस्ने व्यवस्था मिलाइएको छ ।
